बागलुङमा उठ्दैछ मानव सेवा आश्रम
बाग्लुङ | भदौ १३, २०७९
पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट सञ्चालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ ।
आश्रमले बागलुङ नगरपालिका–३ स्थित अस्थायीरुपमा निर्मित भवनबाट सेवा दिइरहेको छ । आश्रममा अहिले ५० सहयोगापेक्षी बेसहारा मानिसलाई राखिएको आश्रमका संयोजनक विपना तामाङले बताउनुभयो । उहाँले बागलुङबासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाउनाका साथै आफ्नै भवन तीव्र गतिमा बनाइरहेको बताउनुभयो । विसं २०७३ मा बागलुङमा स्थापना भएको उक्त आश्रमले गतवर्षदेखि वडा नं ४स्थित निरयघाटमा रु १२ करोडको लागतमा भवन निर्माण सुरु गरेको हो ।
आश्रमको अहिले ‘बि’ ब्लक भवनको दुई तला र ‘सि’ ब्लक भवनको एक तला ढलान गरिएको छ । आश्रमले आर्थिक वर्ष २०७८÷७९मा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाबाट रु ९८ लाख ४६ हजार सङ्कलन गरेर भवन निर्माणमा लगाएको थियो। भवन निर्माणमा हालसम्म रु एक करोड ६१ लाख खर्च भएकामा गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास कार्यालयबाट रु ४६ लाख त्रिसठ्ठी हजार, नगरपालिकाबाट रु आठ लाख ५१ हजार, जैमिनी नगरपालिकाबाट रु १० लाख ५३ हजार, रघुगङ्गा गाउँपालिकाबाट रु एक लाख ९४ हजार, जलजला गाउँपालिकाबाट रु छ लाख ६४ हजार र मानव सेवा आश्रम हेटौँडा शाखाबाट रु १० लाख सहयोग प्राप्त भएको आश्रम निर्माण समितिका अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो । भवन निर्माणकै लागि गत आर्थिक वर्षमा रु १२ लाख १७ हजार विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको थियो ।
अध्यक्ष खड्काका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु ५० लाखसहित विभिन्न पालिकाबाट सङ्कलित रु ७३ लाखको लागतमा ‘बी’ ब्लकको पहिलो तला निर्माण भएको थियो । “हामी भवन निर्माणको सुरुआतीमै छौँ ।
भवन लागत र डिजाइन हेर्ने हो भने निकै खर्चिलो छ, हालसम्म जम्मा एक करोड ६१ लाख मात्रै खर्च भएको छ, चालु आर्थिक वर्षमासमेत गण्डकी प्रदेश सरकारका साथै बागलुङ, पर्वत र म्याग्दीका विभिन्न पालिकाबाट झण्डै रु एक करोड रकम विनियोजन भएकाले भवनको ‘ए’ ब्लक बनाउने लक्ष्य लिएका छौँ” खड्काले भन्नुभयो “चालु आर्थिक वर्षमा भवनले एउटा आकार लिनेछ,, हामीले ‘बी’ ब्लकलाई तीन तला र ए र सी ब्लकलाई दुई तला ‘सी’ आकारमा निर्माण गरिरहेका छौँ, सबैको सहयोगमा आश्रमले सुविधा सम्पन्न भवन, तालिम कक्ष, योगा कक्ष, नर्सिङ सेन्टर, पार्किङ तथा प्राङ्गण निर्माण गर्नेछ ।”
चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिकालगायत पालिकाले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् । एक वर्षपछि आश्रमको केही भाग निर्माण गरेर आफ्नै भवनबाट सेवा दिनेछ भने भवन निर्माण केही वर्षमा सम्पन्न हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

